राजनीति

कर्मचारीकै गिरोहले दिए तस्करलाई नागरिकता



काठमाडौँ, ४ भदौ । सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला परेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेमा सीआईबीको टोलीले अनुसन्धान सुरू गरेको छ ।

आइतबार साँझसम्म काभ्रे जिल्ला प्रशासन कार्यालयबाट ५ जना विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको भेटिएको छ ।

६० किलो सुन तस्करीको योजनाकारमध्येका एक दावा छिरिङलगायत ५ जना विदेशी नागरिकलाई नागरिकता दिन कर्मचारीकै गिरोहसमेत सक्रिय भएको देखिएको छ । दावाले माथिदेखि तल कर्मचारीसम्ममा नै सेटिङ गरेर नागरिकता हत्याएको देखिएको छ ।

तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारीका रूपमा शिव सिंखडा कार्यरत हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा कार्यरत तत्कालीन समयका अधिकृत भूपेन्द्र पाण्डेय हाल लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । उहाँ अहिले उपसचिव हुनुहुन्छ ।

अर्का अधिकृत झपेन्द्रराज खरेल हुनुहुन्छ । उहाँकै हस्ताक्षरबाट निमा र पासाङका नाममा नागरिकता जारी भएको छ । खरेल हाल मेलम्ची नगरपालिकाको सूचना अधिकृत हुनुहुन्छ । उहाँकै हस्ताक्षरमा अधिकांश नागरिकता जारी भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।