Banner News

राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी गरियोः उपमहासचिव पुन



काठमाडौँ, ४ भदौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन् ।

पार्टी सम्वद्ध पेशागत जिल्ला समिति बैठकलाई सोमबार सम्बोधन गर्दै पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमाथि अकारण घेराबन्दी भइरहेको बताए । सरकारको राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र कतिपय अवस्थामा सत्ता सहयात्री दलबाटै घेराबन्दी र अप्ठ्यारोमा पार्ने प्रयास भएको उनको भनाइ थियो । यद्यपि सरकार जनताको साथ लिएर सबैखाले घेराबन्दी तोड्दै लक्ष्यमा अघि बढ्ने उनको भनाइ थियो । उनले सरकारले पछिल्लो समय असल नियतका साथ अघि बढाएका लोकप्रिय काम नरोक्ने पनि उल्लेख गरे। वर्तमान सरकारले गठन भएदेखि नै भ्रष्टाचार अन्त्यको अभियान थालेको पुनले बताए ।  नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरूमाथि छानबिन अघि बढेपछि सरकारविरूद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको उनले चर्चा गरे ।

पुनले भने, ‘राम्रो काम गर्दा हाम्रो अध्यक्षले नेतृत्व गर्नुभएको सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ । हामी सबै घेराहरू तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौं ।’