राजनीति

राष्ट्रपतिद्वारा आह्वानमा आज सर्वदलीय बैठक बस्दै



काठमाडौँ, ५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ ।

समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले आज बिहान साढे ८ बजे शीतल निवासमा बैठक बोलाएका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बैठकमा संसद अवरोध खुलाउन भइरहेको प्रयासबारे जानकारी लिने-दिने काम हुने बताए । सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद अवरुद्ध गर्न थालेपछि राष्ट्रपतिले त्यसमा चासो राख्दै आएका छन् । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसँग शीतल निवासमा छलफल गरेका थिए । यही क्रममा आज उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका हुन् ।

मंगलबार राति सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा उच्चस्तरीय समितिमार्फत् सुन तस्करीबारे छानबिन गर्ने सहमति भएकाले एमाले संसदको अवरोध हटाउन तयार देखिएको छ । यही विषय राष्ट्रपतिलाई जानकारी गराउने नेताहरुले बताएका छन् । उच्चस्तरीय समिति गठनमा सहमति भएकाले आज दिउँसो तीन बजे बस्ने संसद बैठक भने अवरोध नगर्ने एमाले नेताहरुले बताएका छन् । उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग र सरकारी संयन्त्रलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण साउन १० गतेदेखि संसद अवरुद्ध हुँदै आएको थियो ।