अर्थ

डेढ अर्बकाे यार्सागुम्बा बिक्रीे



जाजरकोट, ५ भदौ । जडिबुटीको भण्डारको रूपमा रहेको डोल्पामा यस आर्थिक वर्षमा एक अर्ब ४७ करोड रकम भित्रिएको तथ्यांक सार्वजनिक गरिएको छ ।

यार्सागुम्बा बिक्री–वितरणका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाबाट ५८८ किलो बराबरको छोड पुर्जी दिइएको छ । प्रतिकिलो २५ लाखले मात्र एक अर्ब ४७ करोड रकम भित्रिएको स्थानीय यार्सा व्यापारीले बताएका छन् । ३० लाखका दरले हिसाब गर्ने हो भने झन्डै दुई अर्ब पुग्ने उनीहरूको भनाइ छ ।

यस वर्ष डोल्पामा प्रतिकिलो १० लाखदेखि ३० लाखसम्म यार्सागुम्बाको खरिद–बिक्री भएको दोलखाकी यार्सा व्यापारी मिमा फिन्जुक शेर्पाले बताइन् । एक दशकभन्दा धेरै पहिलाबाट डोल्पामा यार्सागुम्बा व्यापार गर्दै आएकी शेर्पाका अनुसार यार्सागुम्बा पहिलो, दोस्रो र तेस्रो गरेर तीन प्रकारको हुने भएकाले मूल्य पनि त्यहीअनुसार हुने गर्दछ ।