राजनीति

नेपाल–जापान संसदीय समूह छिट्टै गठन हुन्छ : अध्यक्ष तिमिल्सिना



काठमाडौँ, ६ भदौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिट्टै ‘नेपाल–जापान संसदीय समूह’ गठन गर्ने बताएका छन् । 

आज बिहान सिंहदरवारमा जापान–नेपाल संसदीयमैत्री समूहका सदस्यद्वय कोबसायी काजुहिरो र नागाई मानाबुसँगको शिष्टाचार भेटमा उनले छिट्टै ‘नेपाल–जापान संसदीय समूह’ गठन गर्ने बताएका हुन् । 

भेटमा जापानिज संसदीय टोलीले नेपालमा सो समूह गठन नभएकोमा चासो व्यक्त गरेपछि अध्यक्ष तिमिल्सिनाले सबै प्रावधानहरु पूरा गरी सो समूह छिट्टै गठन हुने र त्यसले आपसी सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने विश्वास व्यक्त गरे । त्यस अवसरमा जापनिज टोलीले दुई मुलुकबीचको सदियौंदेखिको सम्बन्धलाई अझ बलियो बनाउँदै लैजानुपर्ने बताएका थिए ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्यौं । त्यसपछि राजनीतिक वातावरण निरन्तर परिवर्तनशील रह्यो । त्यसकारण हामीले मैत्री समूह गठन गर्न अलिकति ढिलाइ भएको छ । अब हामी छिट्टै नै नेपाल–जापान समूह गठन गर्नेछौं । दुवै सदनको सदस्यहरु हामी राख्ने गर्छौं । राष्ट्रियसभा त निरन्तर छँदै थियो । तर प्रतिनिधि सभासहितको बनाउनुपर्ने हुँदाखेरी हाम्रो ढिलाइ भएको हो । हामी छिट्टै त्यो समूह गठन गरेर त्यसको सभापति, अध्यक्षसहितको सबै प्रावधानहरु अनुसार हामी यहाँहरुलाई जानकारी पनि गराउँछौं ।’