राजनीति

एमालेमा केपी ओलीको विकल्प केपी ओली नै हो : नेता झा



महोत्तरी, ११ भदौ । नेकपा एमालेको केन्द्रीय सदस्य सञ्जिव झाले एमालेमा केपी ओलीको विकल्प केपी ओली नै रहेको दावी गर्नुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको मधेस प्रदेशको दोश्रो बैठकमा नेता झाले नेकपा एमालेमा केपी ओलीको विकल्प केपी ओली मात्र हो भन्ने भनाई राख्नुभयो । नेपालको राजनीतिक मेरुदण्डको रुपमा विश्वको नजर एमाले अध्यक्ष ओली माथि रहेको स्पष्ट पार्दै नेता झाले मुलुकलाई समृद्ध र सुखी जनता बनाउन एमाले र देशको लागि केपी ओलीको विकल्प अन्य हुनै नसक्ने ठोकुवा गर्नुभयो । विगतका अप्ठ्यारा राजनीतिक परिस्थितीलाई जनपक्षीय निर्णय लिई देशलाई दुर्घटनाबाट बचाउन केपी ओलीको भूमिका अतुलनिय रहेको उल्लेख गर्दै नेता झाले दक्षिण्पन्थी अवसरवादीहरुलाई परास्त गर्न संसद विघटन गरी निर्वाचनमा जाने निर्णय सहि रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘त्यो बेलामा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको निर्णय ठिक थियो । करिव दुईतिहाई सांसद भएको पार्टीले दक्षिणपन्थी अबसरवादीका कारण सरकार चलाउन अप्ठ्यारो हुँदा निर्वाचनको माध्यमबाट जनतामा जाने निर्णय सहि थियो । त्यै बेला निर्वाचन भएको भए आज संसद भित्र भएको विकृति, छाडापनहरु निकै हदसम्म नियन्त्रणमा हुने थियो । स–साना दलहरु आज देश भन्दा नि सत्ताको भागबन्डामा लिन छ । तस्कर र अपराधीहरुको बिगबिगी छ । दक्षिणपन्थी अबसरवादीहरु आज देशमा अराजकता फैलाई रहेको छ । अब युवा संघ भर लाग्दो र डर लाग्दो दुबै हुनु पर्छ ।’

नेकपा एमाले र नेकपा एमालेको नेतृत्व आज देश र जनताको हितमा सतिसाल भएर उभिदा पार्टी र नेतृत्व माथी षड्यन्त्र गरिएको उल्लेख गर्दै उहाँले युवा संघ नेपाल पुनः सचेत भएर पार्टीको पक्षमा सिपाही भएर फेरि आक्रमक हुने बेला आएको धारणा राख्नुभयो । पार्टीले सबै कमिटीमा युवाको लागि आरक्षण दिएर युवाहरुलाई नेतृत्वमा ल्याउन गरेको पहल अति नै राम्रो निर्णय भएकोले पार्टीलाई धन्यवाद दिदै उहाँले लक्षित युवा बर्गमा गएर देश भरिका प्रगतिशिल युवाहरुलाई राष्ट्रिय युवा संघ नेपालको व्यानरभित्र समेट्न युवाहरुलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघको महोत्तरी जिल्ला कमिटीको उपाध्यक्ष सुदर्शन काफ्ले राष्ट्रिय युवा संघ नेपालमा प्रवेश गर्नुभएको छ ।