विश्व

इराकमा बम विस्फोट गराउने तीनजनालाई फाँसी



एजेन्सी, १२ भदौ । इराकमा ३०० भन्दा बढी व्यक्तिको ज्यान जानेगरी भएको बम विस्फोट गराउने तीनजनालाई फाँसी दिइएको छ ।

इराकले सन् २०१६ मा बगदादमा ३०० भन्दा बढीको ज्यान लिने र सयौं घाइते भएको घटनामा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका तीनजनालाई फाँसी दिएको हो ।

सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इराकमा यो सबैभन्दा घातक एकल बम विस्फोट थियो । इस्लामिक स्टेट समूह (आइएस)ले आक्रमण गरेको बताएको छ । प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको कार्यालयले मृत्युदण्ड दिइएका व्यक्तिहरूको नाम र उनीहरूलाई कहिले सजाय सुनाइएको हो भन्ने बताएको छैन । उनीहरूलाई आइतबार र सोमबार मृत्युदण्ड दिइएको बताइएको छ ।

३ जुलाई २०१६ मा विस्फोटक पदार्थले भरिएको एउटा गाडीलाई इराकी राजधानीको मुख्य शिया मुस्लिम क्षेत्र काराडामा भीडभाड भएको किनमेल केन्द्रको छेउमा विस्फोट गराइएको थियो । त्यतिबेला इस्लाम धर्मको पवित्र महिना रमजानको लागि दैनिक उपवास तोडेर मानिसहरूले रात्रि रमाइलो गरिरहेका थिए ।