राजनीति

कृषि क्षेत्रमा भएको प्रगतिबाट सन्तुष्ट हुने स्थिति छैन : प्रधानमन्त्री दाहाल



काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रमा गुणात्मक र रूपान्तरणकारी परिवर्तन सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सांसद उर्मिला माझीको प्रश्नको जवाफ दिँदै उनले कृषि क्षेत्रमा विगतदेखि लगानी गर्दै आएको र उत्पादकत्वमा वृद्धि भए पनि अपेक्षित हुन नसकेको उल्लेख गरे । कृषि क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालनमा रहेको उनले बताए । रासायनिक मल समयमै उपलब्ध हुने सुनिश्चिता गरिएको उनले जानकारी गराए । कृषि पेसालाई दिगो र गर्विलो बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

उनले कृषि क्षेत्रमा भइरहेका कामबाट सन्तुष्ट हुने स्थिति भने नरहेको बताए । “अहिलेसम्म जे जति भएको छ, त्यसबाट सन्तुष्ट हुने स्थिति छैन,” प्रधानमन्त्री प्रचण्डले भने ।

उनले आफू भारत भ्रमणमा गएका बेला कृषिमा सहकार्य गर्ने निधो भएको र त्यो अघि बढ्ने बताए । आसन्न चीन भ्रमणका क्रममा पनि कृषिमा सुधारका निम्ति विशेष विषयमा ध्यान दिइने उनले सुनाए ।