Banner News

नेपाललाई नयाँ इतिहास कोर्ने अवसर



काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आजदेखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग भिडन्त गर्दैछ । 

एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज एकदिवसीय वरीयताकै शीर्ष स्थानको पाकिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ । 

एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो । एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ ।

एसिया कप खेल्ने नेपाली टोली
पहिलो पटक एसिया कप खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित पौडेलको नेतृत्वमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ । घोषित टोलीमा आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देशाई रहेका छन् ।