समाचार

धरानमा डेंगु संक्रमण घट्दो



सुनसरी, १९ भदौ । सुनसरीको धरानमा डेंगु संक्रमण दर केही घटेपनि जोखिम भने कायमै रहेको छ । धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार धरानमा डेंगु सङ्क्रमणबाट हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । 

जसमा सबैभन्दा धेरै वडा नम्बर ११ रहेको छ । उक्त वडामा डेंगुबाट ४ जनाको मृत्यु भएको छ । वडा नम्बर १५ र १८ मा २/२ जना र अन्य वडाहरु २, ५, १०, १६ र १७ मा १/१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना महिला र ६ जना पुरुष छन् । उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार यो तथ्याङ्क जेठ तेस्रो सातायताको हो । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार भदौ १८ गते सोमबार परीक्षण भएकोमध्ये ६२ प्रतिशतमा डेंगु देखिएको छ । हिजो २०३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमध्ये १२५ जनामा डेंगु भेटिएको हो । यस्तै हालसम्म डेंगु परीक्षण २० हजार ९७० जनामा गरिएको छ । जसमध्ये झन्डै १५ हजार अर्थात् १४ हजार ९८१ जनामा डेंगु देखिएको छ । यो ७१ प्रतिशत हो ।