समाचार

सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा समातिए



काठमाडौ २० भदौ। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको छ ।

आफूलाई राजावादी बताउने श्यामबहादुर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार सापकोटा यादव रिपोर्टस क्लबमा बोल्दै गर्दा पत्रकारहरुसँगै बसेका थिए ।

यादव रिपोर्टस क्लबमा बोलिसकेपछि राप्रपाका महामन्त्री धवलशमशेर जबरासँग कुरा गर्दै बाहिरिने क्रममा पिछा गरिरहेका सापकोटाले टाउकोमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । करिब सवा १ बजेतिर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

“सापकोटा भित्र पत्रकारहरुसँगै बसेका रहेछन्, यादव बोलिसकेर बाहिरिने क्रममा पिछा गर्दै गएर खुकुरी प्रहार गरेको देखिन्छ,” काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेलले बाह्रखरीसँग भने । सापकोटाको घर नुवाकोट विदुर भएको बताइएको छ । उनी अहिले काठमाडौंको बालाजु क्षेत्रमा बस्दै आएका छन् ।

सापकोटाको प्रहारबाट यादवको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको र उनलाई खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । क्लबका पत्रकार ईश्वर कार्कीका अनुसार यादवले बोलिरहेका बेला सापकोटा पत्रकारहरुसँगै बसेका थिए ।