Banner News

प्रदूषणले वार्षिक पाँच हजार काठमाडौँवासीको मृत्यु



काठमाडौँ, २१ भदौ । वातावरण विभागले सार्वजनिक गरेको प्रदूषणको अवस्थाबारे वार्षिक प्रतिवेदन अनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजारभन्दा बढी नागरिकले ज्यान गुमाउने गरेको पाइएको छ ।

सन् २०२० देखि २०२२ सम्म विभाग र वायु प्रदूषणको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले गरेका अध्ययनको आधारमा सो प्रतिवेदन तयार पारिएको हो ।

मृत्यु हुनेमा सबैभन्दा धेरै २७ प्रतिशत ७० वर्षमाथिका नागरिक र १९ प्रतिशत पाँच वर्षमुनिका बालबालिका छन् । मृत्यु गराउनेमध्ये पाँच रोगका मुख्य कारण वायु प्रदूषणसँग सम्बन्धित रहेको विभागले जनाएको छ ।

४२ हजार नेपालीको मृत्युको कारण बन्ने रोगहरूमा सीओपीडी श्वासप्रश्वाससँग सम्बन्धितको ६६ प्रतिशत कारक वायु प्रदूषण रहेको छ । 

यस्तै, मुटुरोगको ३४, मस्तिष्काघातको ३७, तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमणको कारक वायु प्रदूषण रहेको उल्लेख छ । नवजात शिशुको मृत्युको कारणमध्ये २२ प्रतिशत वायु प्रदूषण नै रहेको प्रतिवेदनमा जनाइएको छ ।

काठमाडौँमा वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १० गुणा बढी रहेको प्रतिवेदनमा उल्लेख छ । काठमाडौंमा मात्र वार्षिक पाँच हजार ८० जनाको मृत्यु वायु प्रदूषणजन्य समस्याका कारण हुने गरेको तथ्यांक छ ।