राजनीति

कान्ति बाल अस्पतालका निर्देशकमाथि छानबिन गर्न सांसद बर्तौलाको माग



काठमाडौँ, २१ भदौ । एमाले सांसद महेश बर्तौलाले कान्ति बाल अस्पतालको लापरबाहीका कारण ५ बर्षीया बालिकाको निधन भएको भन्दै त्यसको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्ने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै बर्तौलाले रेजिशा गोपालीको चरम लापरबाहीका कारण मृत्यु भएको भन्दै यो घटनाको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने बताए । 

उनले भने, ‘यो घटनाको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्छ कि पर्दैन ?’, ‘त्यतिमात्रै होइन स्वास्थ्यमन्त्रीले यो संसदमा आएर यो बताउनुपर्थ्यो । देशभरका अस्पतालमा यस्ता बेथिति भइरहेको आइरहेको छ ।’

उनले सांसदमार्फत सरकारलाई कान्ति बाल अस्पतालका निर्देशक र अस्पताल व्यवस्थापन समितिमाथि अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनले पीडितलाई न्याय दिन र यस्ता घटना दोहोरिन नदिनतर्फ सरकारको ध्यानाकर्षण गराए ।