राजनीति

सहमतिका साथ अघि बढ्न जरुरी : मन्त्री श्रेष्ठ



काठमाडौँ, २१ भदौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि सहमतिका साथ अघि बढ्न जरुरी रहेको बताएका छन् ।

आज चितवनको माडी नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उनले एकार्कालाई तानातान गर्ने राजनीतिक संस्कारले मुलुकको विकास हुन नसकेको बताए । राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उनले औँल्याए ।

उनले भ्रष्टाचारको जालोलाई अन्त्य गरेर सुशासन कायम नगरेसम्म मुलुकको समृद्धि सम्भव नरहेको उल्लेख गरे । सुशासन, समृद्धि र सामाजिक न्याय अहिलेको सरकारको मुख्य कार्यभार रहेको बताउँदै उनले यसानुसार अघि बढ्न सबैलाई आग्रह गरे ।