समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै



काठमाडौँ, २१ भदौ । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप नेपालमा पहिलोपटक दिइने भएको छ ।

 सरकारले पहिलो चरणमा नमुनाका रूपमा १४ वर्ष उमेर समूहका किशोरीलाई यो खोप दिन लागेको हो । खोप कार्यक्रम आउँदो असोज २७ गतेदेखि सुरु गरिनेछ । सातै प्रदेशका एक/एक सरकारी अस्पतालबाट खोप दिइनेछ । पहिलो चरणमा नौ हजार ५०० किशोरीलाई खोप दिइने परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाले जनाएको छ ।

एचपीभीविरुद्धको खोपले पाठेघरको क्यान्सरविरुद्ध काम गर्ने शाखाले जनाएको छ । प्रजनन् उमेरमा प्रवेश गर्दै गरेका किशोरीलाई लक्षित गरी खोप दिन लागिएको हो । यो खोप ६ महिनाको अन्तरालमा दुई डोज लगाउनुर्छ । खोप लगाउन जन्ममिति खुल्ने कागजात लिएर तोकिएका अस्पतालमा जानुपर्छ । खोपको डोज पूरा गरेकाहरूमा एचपीभीका कारण हुने संक्रमणबाट जोगिने सम्भावना ९५ प्रतिशतसम्म हुने खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए ।