राजनीति

हामी बिपीको राजनीतिक चिन्तनको मार्गमा हिँडेका छौं : सभापति देउवा



काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरु हिँडेको बताएका छन् ।

आज बीपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित बिपी साहित्य महोत्सवको उद्घाटन गर्दै उनले  यहि चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको पनि बताए ।

देउवाकाे मन्तव्य :

कार्यक्रम संयोजकज्यू, पार्टीका सम्पूर्ण साथीहरू,

विभिन्न राजनीतिक दलका नेताहरू, विभिन्न विधाका कवि, साहित्यकार, चित्रकार, संगीतकार एवं सम्पूर्ण अतिथी पाहुनाहरु, यहाँहरुलाई यस महोत्सवमा हार्दिक स्वागत गर्दछु ।

आज बिपी कोइरालाको ११० औ जन्म जयन्तीमा उहाँलाई स्मरण गर्दै उहाँले प्रतिपादन गरेका राजनीतिक विचार, उहाँका साहित्यिक कृतिहरु, उहाँले भोग्नु परेका संघर्षमय जीवन गाथाहरू र उहाँको सामाजिक, आर्थिक तथा धार्मिक साँस्कृतिक दृष्टिकोण लगायतका विधि पक्षमा विशिष्ठ ज्ञान भएका विद्वान वुद्धिजीवीहरुबाट चर्चा वहस गराई आजको युवा पुस्तालाई पनि बिपीका बारेमा गहिरो ज्ञान बाँड्ने यो महोत्सवको उद्देश्य रहेको छ ।

बिपी आफैमा वहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधै अजर र अमर नक्षेत्रको रुपमामा आज पनि स्थापित हुनुहुन्छ । उहाँको राजनीतिक चिन्तनले देखाएको मार्गमै हामी हिडेका छौ । मुलुकलाई त्यही चिन्तनले समृद्ध बनाउने लक्ष्य लिएका छौ, प्रयत्न गरिरहेका छौं भने नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि उहाँको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएका छन् । यहाँ उपस्थित रहनुभएका धेरै साथीभाइहरूले समय र उमेरका कारणले बिपीलाई भेट्ने अवसर पाउनु भएन, जतिले पाउनु भयो, जति समय पाउनु भयो उहाँहरुले पक्कै पनि आफ्नो विचारमा, दृष्टिकोणमा, जीवन दर्शनमा र व्यवहारमा उहाँबाट केही न केही कुरा अवश्य लिनुभएको छ । मेरो राजनीतिक प्रेरणाको स्रोत उहाँ नै हुनुहुन्छ ।

उहाँ साधा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । हामीले उहाँलाई भेट्दा, उहाँले आफै भन्नु हुनुहुन्थ्यो कि तिमीहरु ठूलो मान्छे होइन, असल मान्छे बन्नु । उहाँले माक्र्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग निकट देखिनुहुन्छ भने आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई पनि आवश्यक ठान्नुहुन्छ । सामन्तवादका विरूद्ध तत्कालिन समयमा देखिएको निरपेक्ष साम्यवाद र निरपेक्ष पूँजीवाद दुबै उहाँले अपूर्ण देख्नुभयो । अनि प्रजातान्त्रिक समाजको व्याख्या गर्दै भन्नु भयो “साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ ।” आज नेपाली कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको छ ।

समयको अन्तराल संगै आज हाम्रो मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको छ तर विभिन्न कारणले स्थायित्व पाएको छैन । नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेका छौं तर यसको मर्म अनुसार अभ्यास गर्न पाएका छैनौं । नागरिकका कैयौं अभाव, समस्या, असन्तुष्टी र समाजमा देखिएका विभेद विसंगतिलाई बिपीको आर्थिक, सामाजिक तथा धार्मिक सांस्कृतिक एवं राजनीतिक विचारले समाधान दिन सक्छ भन्ने दृढ विश्वास हुँदाहुदै पनि उहाँको विचारलाई हरेक पुस्ताका नागरिकहरू वीच पर्याप्त वहस र छलफल गराउन नसक्नु हाम्रा पनि केहि कमजोरीहरू रहेका छन् । बिपी राष्ट्रिय मात्रै होइन अन्र्तराष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार हुनुहुन्थो, सबै किसिमका विभेद विरूद्ध आगो ओकल्नु हुन्थ्यो । समावेशीता र सधै नागरिकको न्याय, समानता र स्वतन्त्रताको पक्षमा लडिरहनु भयो भने राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पहाड झै उभिनुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा उहाँ सवैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्नुु हुन्थ्यो भने राज्यको सिमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीहरुसँग मीत्रवत ढंगले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नु हुन्थ्यो र निर्णय गराईछाड्नु हुन्थ्यो । यस्तो महान व्यक्ति आज हाम्रा सामु भौतिक रूपमा नभएपनि उहाँका विचार, सिद्धान्त र साहित्यिक कृतिहरूले हामीलाई मार्ग निर्देश गरिरहेको छ ।

उपस्थित सबै महानुभावहरूले तीन दिन सम्म यो महोत्सवमा निर्धारित विषयमा गहिरो छलफल वहस गर्नु हुनेछ । वैचारिक वहस संगै साहित्यिक साँस्कृतिक र सांगीतिक माहोलमा प्रसिद्ध चित्रकारहरुले कोरेका आकर्षक र मनमोहक चित्रहरु अवलोकन गर्नु हनेछ र आफ्नो जीवनलाई बिपी विचारवाट दिक्षित गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । साथै छोटो समयको तयारीमा पनि यो महोत्सवलाई भव्य र सभ्य बनाउन अहोरात्र लागि पर्ने पार्टीका साथीहरू, कार्यालयका कर्मचारीहरू, नेपाली लेखक संघ, नेपाल सांस्कृतिक महासंघ, फाईनआर्ट, निरन्तर शनिवार, प्राविधिकहरु, संचारकर्मी लगायत सबै उपस्थित साथीहरूमा नेपाली कांग्रेस पार्टीकै तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु । जय नेपाल ।

शेरबहादुर देउवा

सभापति

नेपाली कांग्रेस

२०८० भाद्र २४