Banner News

प्रधानमन्त्रीद्वारा डेडिकेटेड र ट्रंकलाइन नकाट्न प्राधिकरणलाई निर्देशन



काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगहरूको लाइन नकाट्न निर्देशन दिएका छन् । आज उद्योगीसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले लाइन नकाट्न निर्देशन दिएका हुन् ।

उनले नेपाल विद्युत् प्राधिकरणलाई लाइन नकाट्न निर्देशन दिँदै यसबारे निर्क्योल नभएसम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न भनेका हुन् । प्राधिकरणले बिजुली काट्ने भनेपछि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासङ्घ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

उक्त प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिएका हुन् । उनले यससम्बन्धी विषयमा महासङ्घ, विद्युत् नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा पुर्याउने कुरामा आफूले पहल गर्ने पनि बताए ।