Banner News

सरकारले आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छः अध्यक्ष ओली



काठमाडौँ, २५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन् । 

आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा तेजावबिरुद्ध आयोजित कार्यक्रममा बोल्दै  अध्यक्ष ओलीले एक हप्ता अघि नै खुकुरी हान्छु भन्नेलाई सरकारले नियन्त्रणमा नलिँदा काँग्रेस नेतामाथि खुकुरी प्रहार भएको बताए । त्यस्ता कुरालाई बेलैमा नियन्त्रण नगरेको भन्दै सरकारको आलोचना गरे । काट्छु, मार्छु भनेर समाजमा विद्वेष फैल्याउनेहरुलाई पनि नियन्त्रणमा नलिएर सरकारले तमासा देखाइरहेको ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले काँग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डिएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको बताएका हुन् । 

आतंकारीहरुलाई, असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानूनी क्रियाकलापमा साथ दिन्न भनेर डिएसपी राजन राईले भनेपछि त्यसलाई सहन नसकेर उनी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिनेहरुलाई सरकारले किन पक्राउ नगरेको  भनि प्रश्न समेत गरे ।

उनले तेजाव आक्रमण बिरुद्ध जागरण अभियान सञ्चालन गर्ने र हिंसा बिरुद्धको अभियानमा साथ दिन सञ्चारकर्मीहरुलाई पनि पटकपटक आग्रह गरे । 

उनले भने, ‘सञ्चार माध्यमहरुलाई पनि म आग्रह गर्न चाहन्छु–कि तपाईहरुले बोलाईको बीचबाट कुनै राजनीतिक कुरा च्वास्स निकालेर प्रचार गर्न भन्दा यो सामाजिक जागरण अभियानलाई साथ दिन म आग्रह गर्न चाहन्छु । सामाजिक जागरण, हिंसाबिरुद्धको अभियान, हामी नेपाली–नेपाली बीचमा जातको नाउमा, भाषाको नाउमा, सम्प्रदायका नाउमा, विभिन्न आस्थाका नाउमा अनेक ढंगले नेपालमा द्वन्द्व र अस्थिरता मच्चाउन खोजिएको छ । फिजाउन खोजिएको छ । यस्ता कुराहरुमा तपाईहरु सजग हुनुहोस् । कुटनीतिज्ञहरु कुटनीतिक मर्यादा नाघेर विभिन्न ठाउँमा विभिन्न प्रकारका भेटघाट, ती भेटघाटका पछाडि के छ ? राम्रो कुरा भएको भए बाहिरी कुरा हुन्थ्यो होला । भित्र भेटघाट भइराख्या छ । यस्ता कुराहरुबाट हाम्रो मित्रहरुले पुनर्विचार गर्नुपर्छ भन्ने म ठान्छु । र, सरकारले यस्ता कुराहरुमा विना मोलाहिजा कुरा गर्नुपर्छ जोकोहीसँग पनि ।’