समाचार

आजको मौसम



काठमाडौँ, २७ भदौ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका केही भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा  बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण नदीको जलसतह हल्का बढ्न सक्ने,  गेग्रान बहाव,  बाढी,  पहिरो,  भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले दैनिक जनजीवन हुने सम्भावना रहेको विभागले जनाएको छ ।