राजनीति

स्वास्थ्य मन्त्री बस्नेतद्वारा एचपीभी खोपको डेमोस्ट्रेसन शुभारम्भ



काठमाडौँ, २७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.(ह्युमन प्यापिलोमा भाइरस) खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका छन् ।

आज थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा मन्त्री बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर उक्त खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका हुन् ।

यो अवसरमा धुम्बाराहीकी १४ वर्षीय किशोरी आइरिस मानन्धरलाई पहिलो एच.पि.भी. खोप लगाइएको थियो । शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले औपचारिक रूपमा पहिलो पटक पाठेघरको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको एचपीभी खोप शुभारम्भको लागि देशका ७ वटा अस्पताल छानेको  र बागमती प्रदेशमा प्रसूति तथा महिला रोगको उपचारको आशाको केन्द्र मानिएको प्रसूति गृहलाई छानेर खोपको शुभारम्भ गरिएको बताए ।

७७ वटै जिल्लाका ९ वर्षदेखि १५ बर्समुनिका किशोरीहरूलाई यो खोप दिने सरकारको लक्ष्य भएको बताउँदै हाललाई २० हजार भाइल खोप आईपुगकाले त्यसबाटै अभियान सुरुवात गरिएको मन्त्री बस्नेतले जानकारी दिए ।