राजनीति

प्रधानमन्त्रीको भ्रमण टोलीबाट मुख्यसचिव र सुरक्षा सल्लाहकार हटे



काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने नेपाली प्रतिनिधिमण्डलको सूचीबाट मुख्यसचिव डा. बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकर दास वैरागीको नाम हटाइएको छ ।

प्रतिनिधिमण्डलाई चुस्त बनाउन अर्याल र वैरागीकै अनुरोधमा उनीहरुको नाम हटाइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ । स्रोतका अनुसार अब नेपालबाट अमेरिकाको न्युयोर्कमा हुने राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन जाने नेपाली प्रतिनिधिमण्डलमा मात्र नौजना हुनेछन् । प्रधानमन्त्रीले प्रतिनिधिमण्डल सूचीबाट आफ्नो निजी चिकित्सकको नाम समेत हटाएको छ । मुख्यसचिव र राष्ट्रिय सुरक्षा सल्लाहकारले आफूले सम्बोधन गर्ने कार्यक्रम नरहेको जानकारी पाएपछि उनीहरु आफैले आफ्नो नाम हटाउन सुझाव दिएका थिए । त्यसपछि उनीहरुको नाम प्रतिनिधिमण्डलबाट हटाइएको हो ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते साँझ न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।