Banner News

सुवास नेम्वाङ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त सफल राजनेता हुनुहुन्थ्यो: अध्यक्ष ओली



काठमाडौँ, २८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताएका छन् । 

बिहीबार नेकपा (एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले स्वर्गीय नेम्वाङ सफल राजनेताको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताए । अध्यक्ष ओलीले नेम्वाङ संविधान र कानुन उल्लंघन गर्नु नहुने मान्यतामा रहेको बताए । उनले नेम्वाङले दलीय स्वार्थभन्दा माथि उठेर संसद् चलाएको र संसदको गरिमा बढाएको बताए । उनले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताए । नेम्वाङ सामाजिक सद्भाव, सामाजिक न्याय र सामाजिक सद्भावका साथ राष्ट्रिय एकताको पक्षमा रहेको उनले बताए । स्वर्गीय नेम्वाङ सधैँभर न्यायको पक्षमा उभिएको अध्यक्ष ओलीले स्मरण गरे ।

उनले भने, ‘अहिलेसम्मको इतिहासमा हेर्ने हो भने उहाँसँग कसैको तुलना हुँदैन । उहाँ चुनिएपछि वास्तवमै दलीय स्वार्थभन्दा माथि उठेर, वास्तवमै संसदीय गरिमा बढाउन, संवैधानिक इमान्दारिता र कानुनको हिसाबले चल्नुपर्छ । आफूले आफैँलाई पनि कानुनमा बाँध्नुपर्छ । कानुनको उल्लंघन गर्नु हुँदैन भन्ने उहाँको मान्यता थियो । र उहाँ एउटा सफल राजनेताको रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त हुनुहुन्थ्यो ।’