राजनीति

नेकपा एसमा नेताहरूकाे कार्यविभाजनमा हेरफेर



काठमाडौँ, २८ भदौ । नेकपा (एकीकृत समाजवादी) ले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ ।

केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नुहुने छ । महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामका साथै मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्नुहुनेछ ।

त्यस्तै नेता झलनाथ खनाल विदेश विभाग प्रमुखका रूपमा रहनुहुनेछ भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाउनुभएको पार्टी कार्यालयले जनाएको छ । पार्टीको प्रतिष्ठानहरूअन्तर्गत इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाउनुभएको छ ।

पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनीत गरेको छ । यस्तै बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । यही भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हाे ।