राजनीति

कर्मचारी सरुवामा मनपरी



काठमाडौँ, ३१ भदौ । बिनामापदण्ड र बिनाकार्यविधि विभिन्न मन्त्रालयले आफूमातहतका कर्मचारीहरूको धमाधम सरुवा गर्न थालेका छन् ।

यसबाट कर्मचारी वृत्तमा असन्तुष्टि पैदा भएको छ । तर, केही कर्मचारी भने खुसी भएका छन् । अहिले सरुवाको मौसम हो । सामान्यतया साउनमा एक मन्त्रालयबाट अर्को मन्त्रालय, भदौमा मन्त्रालयभित्रै एक विभागबाट अर्को विभाग, एक कार्यालयबाट अर्को कार्यालय र असोजमा विभागभित्रै एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने परम्परा छ । अहिले सबैजसो मन्त्रालयले कर्मचारी सरुवा गरिरहेका छन् । तर, सरुवामा नियम, कानून, परम्परा र कार्यविधि भने लागु गरिएको छैन । मन्त्री, सचिव तथा माथिल्लो तहका कर्मचारीहरूसँग निकट मानिएका कर्मचारीहरूलाई आकर्षक मानिएका कार्यालयमा पठाउने र पहुँच नभएका कर्मचारीलाई आकर्षक नदेखिएका कार्यालय तथा दुर्गम हिमाली तथा पहाडी जिल्लामा पठाउने गरिएको छ ।

यसबाट काम गर्ने तथा क्षमता भएका कर्मचारीहरू निरुत्साहित हुने गरेका छन् । कर्मचारी सरुवामा आर्थिक चलखेलसमेत हुने गरेको आरोप लाग्ने गरेको छ । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीका पालामा कर्मचारी सरुवामा हुने अनियमितता रोक्न चक्रीय प्रणाली लागु गर्ने घोषणा गरेका थिए ।

साथै दुर्गमका कर्मचारी सुगममा ल्याउने र सुगमका कर्मचारी दुर्गममा अनिवार्य रूपमा पठाउने घोषणा गरेका थिए । त्यतिबेलै उनी मन्त्रीबाट बिदा भए । त्यसपछि उनको यो निर्णय अलपत्र परेको छ । यो सामाचार आजको नागरिक दैनिकमा छ ।