अर्थ

६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता



काठमाडौँ, ३१ भदौ । ६० किलो सुन तस्करी गरेको आरोपमा २९ जनामाथि मुद्दा दर्ता भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा  ५० जनालाई प्रतिवादी बनाएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गरेको हो । प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् । यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो ।

सबै आरोपितमाथि सुन तस्करी गरेकोमा  ३ अर्ब ५० करोड २ लाख रुपैयाँ,  ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेश भएको अभियोग पत्रमा उल्लेख छ । आरोप पत्र अनुसार उनीहरुले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन् ।

प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसुरका साथै एक साथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय माग दाबी गरिएको छ । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।  अहिले मिसिल रुजु भइरहेको र आजै मुद्दा दर्ता गर्ने तयारी रहेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।