समाचार

मध्यपुरका १५ सय परिवारलाई कम्पोष्ट मल वितरण



भक्तपुर, २ असोज । जिल्लाको मध्यपुर थिमि नगरपालिकामा १५ सय परिवारलाई कम्पोष्ट मल वितरण गरिएको छ ।

नगरपालिका र नेप्सेम्याकको आज आयोजनामा ‘सभ्य सहर, सभ्य नागरिक र स्वच्छ समाज’ भन्ने मुल नाराका साथ भएको फोहोरमैला वर्गिकरण तथा कम्पोष्ट मल वितरण कार्यक्रम गरी नगरपालिकाका वडा नं. ५ र ९ का १५ सय परिवारलाई कम्पोष्ट मल वितरण गरिएको छ । फोहोर वर्गिकरण गर्नेलाई वार्षिक एक प्याक मल वितरण गर्ने योजनाका साथ नेम्सेम्याकले आफै उत्पादन गरेको कम्पोष्ट मल आफ्ना सदस्यहरुलाई वितरण गरेको हो । उपभोक्ता समितिमार्फत सांकेतिक रुपमा मल वितरण गरिएको छ । बाँकी सवै सदस्यलाई नेप्सेम्याकले संस्थाको नियमानुसार मल वितरण गर्ने बताएको छ ।

कार्यक्रममा बोल्दै मध्यपुर नगरप्रमुख सुरेन्द्र श्रेष्ठले फाहोर मैला व्यवस्थापन गर्न ठूलो चुनौती रहेको उल्लेख गर्दै निजी क्षेत्रसँगको सहकार्यले नगरपालिकाको फोहोर व्यवस्थापन गर्न धेरै सहज भएको बताउनुभयो । काठमाडौँ उपत्यकाकै सवैभन्दा बढी वायु प्रदुषण रहेको नगरपालिका रहेको जानकारी दिँदै उहाँले फोहोर व्यवस्थापन गर्नको लागि आवश्यक जग्गाको व्यवस्थापन गर्ने जोड दिने बताउनुभयो । नगरपालिका फोहोर व्यवस्थापनमा पृथक ढंगले अगाडी बढ्ने योजना बनाइरहेको उल्लेख गर्दै उहाँले पुरानो वस्ती र नयाँ वस्तीलाई व्यवस्थित गर्दै नितिगत रुपमा नै सुधार गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उपप्रमुख विजयकृष्ण श्रेष्ठले फोहोरलाई मोहरको रुपमा रुपान्तरण गर्न टोल टोलबाट आम नागरिक लाग्नुपर्नेमा जोड दिनुभयो । फोहोरलाई वर्गिकरण गरी उचित व्यवस्थापन गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले टोल विकास समितिले सरसफाई अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै वडा नं. ९ का वडाध्यक्ष सानुकाजी राजवाहकले टोलविकास समितीले फोहोर व्यवस्थापनमा विशेष रुपमा आफ्नो कर्तव्य पुरा गर्नुपर्नेमा जोड दिनुभयो । फोहोर व्यवस्थापन नगरी आम नागरिकले आफ्नो स्वास्थ्यमा आफै खेलवाड गरिरहेको उल्लेख गर्दै उहाँले फोहोर निर्मूल नै रोगको निर्मूल हुने उल्लेख गर्नुभयो ।

नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहालले कुहिने र नकुहिने फोहोरको वर्गिकरण गरी किसानसँग जोड्नुपर्नेमा जोड दिनुभयो । नेप्सेम्याकले काठमाडौँ उपत्यका लगायतका स्थानहरुमा फोहोर न्युनिकरण अभियान चलाएको उल्लेख गर्दै उहाँले फोहोर व्यवस्थापनको लागि नगरपालिकाले जग्गा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । मध्यपुर थिमि नगरपालिकाबाट दैनिक करिव ६० टन फोहोर निस्कने जानकारी गराउँदै उहाँले फोहोर व्यवस्थापनमा लाट्ठी लगाएर भन्दा पनि जनतामा चेतनाको विकास गरेर सानो प्रयासले राज्यलाई ठूलो सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदी, नेप्सेम्याक भक्तपुरका शाखा प्रवन्धक बाबुराम चौलागाई, नेप्सेम्याकका सञ्चालक गोविन्द आचार्यलगायत टोल विकास समितिका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।