Banner News

शिक्षकहरूको आन्दोलनले काठमाडौँ अस्तव्यस्त



काठमाडौँ, ४ असोज । काठमाडौँको ट्राफिक अवस्था आज पनि अस्तव्यस्त भएको छ । शिक्षा विधेयकको विरोधमा बुधबारदेखि नै काठमाडौंमा शिक्षकहरूले प्रदर्शन थालेपछि ट्राफिक अवस्था अस्तव्यस्त हुन पुगेको हो ।

बुधबारदेखि थालेको प्रर्दशन बिहीबार समेत जारी राखेका छन् । बुधबार शान्तिपूर्ण रूपमा उत्रिएका शिक्षकहरू बिहीबार भने केही उग्र देखिएका छन् ।

प्रहरी र शिक्षकबीच बानेश्वरमा घम्साघम्सी समेत भएको छ । देशभरबाट आएका शिक्षकहरू काठमाडौंका सडकमा उत्रिएका छन । शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर, सिंहदरबार, थापाथली हुँदै संसद् भवन नयाँ बानेश्वरसम्मको ट्राफिक अवस्था पूर्ण प्रभावित भएको छ ।

विधेयक मस्यौदामाथि नेपाल शिक्षक महासंघले दिएका सुझावहरूलाई समावेश नगरी संसद्मा पेस गरिएको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।