राजनीति

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुला



काठमाडौँ, ७ असोज । नेपाली नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० नेपाल राजपत्रमा प्रकाशित भएसँगै देशभरका जिल्ला प्रशासन कार्यालयबाट आमाको नाउँबाट र गैरआवासीय नेपालीहरूलाई नागरिकता दिने बाटो खुलेको छ ।

मन्त्रिपरिषद्बाट पारित नागरिकता नियमावली गत बिहीबार साँझ राजपत्रमा प्रकाशित भएसँगै नागरिकतासम्बन्धी कानून पूर्ण रूपमा कार्यान्वयन गर्ने बाटो खुलेको हो ।यसअघि बुबाको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बुबाको पहिचान नभएका व्यक्तिले अबदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका छन् । संशोधित नियमावलीमा बुबाको पहिचान नभएका व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेस गर्नु पर्ने र विदेशी मुलुकको नागरिकता नलिएको भनेर स्वघोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तो नागरिकता पाउने व्यक्तिको आमाको पनि मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्था भए, त्यसको प्रमाणसहित स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउनेछन् । स्वघोषणाको ढाँचा नियमावलीमा अनुसूचीमा उल्लेख गरिएको छ ।

नियमावलीमा गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।