Banner News

सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने सोचियो, तर काँटी जति पनि पड्किएन : रवि लामिछाने



काठमाडौँ, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको टिप्पणी गरेका छन् । 

आज प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन् ।

उनले भने, ‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान दिइयो, त्यो अनुसन्धानका कुराहरू हेर्दाखेरी भद्दा मजाक जस्तो भएर गयो । आज देखिएका मान्छेहरुले, मैले त्यतिखेरै भनेको थिएँ कि जब ३ दिनपछि यो अनुसन्धानमा पुग्यो । त्यो समय किन दिइएको ? सन्दिग्ध मान्छेहरूलाई भाग्ने समय दिइयो कि ? मोबाइल फर्म्याट गर्ने समय दिइयो कि के गरिएको भन्ने थियो ? मलाई दुःख लागेको छ । सत्तारुढ दलका नेताहरूको नाम आउने बित्तिकै जुन ढंगले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ त्यो पटका पनि भएन । सलाईको काँटी जतिपनि पड्किएन । किनभने जतिपनि नामहरू आए उनीहरुले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्ने कुरा सार्वजनिक भएको छ । प्रहरी केही गर्न चाहन्छ, राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नि मिडिया ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको छ । त्यो कन्फिडेन्स गृहमन्त्रीज्यूले प्रहरीलाई दिन नसक्नुभएको हो कि  अथवा पार्टी भित्रको दबाब तपाईँले थेग्न नसक्नुभएको हो ? यो स्पष्ट पार्नुपर्‍यो ।’