राजनीति

नेपाल शक्ति राष्ट्रहरुको प्रतिस्पर्धास्थल बन्यो : अध्यक्ष लिङ्देन



काठमाडौँ, १६ असोज । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल शक्ति राष्ट्रहरुको प्रतिस्पर्धास्थलमा परिणत भएको बताएका छन् ।

राप्रपाले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले शक्ति राष्ट्रहरु र अन्य सबै विश्व समुदायसँग मुलुकको सम्बन्धबारे ठोस अवधारण बनाउन जरुरी रहेको बताए । सरकारको कमजोरीका कारण कुनै पनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धाको शिकार बन्नसक्ने उनको दाबी छ । अहिले सत्तारुढ पार्टी र मुख्य पार्टीहरुको विदेश सम्बन्ध सत्ता केन्द्रित भएको उनको आरोप छ । सत्ताको लागि जे पनि सम्झौता गर्ने गरिएको उल्लेख गर्दै उनले कुनै शक्ति राष्ट्रसँग नजिक वा टाढाभन्दा पनि समनिकटताको सम्बन्ध बनाउनुपर्ने जोड दिए ।

उनले भने, ‘अहिले नेपालको परराष्ट्र नीति छैन भने पनि हुन्छ’, उनले अघि भने, ‘सरकारले देश–देशहरुसँग गरिरहेको सम्बन्ध भनेको आफ्नो सत्ता कसरी टिकाउनेमा केन्द्रित छ । विदेशीहरुको साथ समर्थन भएन भने चुनाव जित्न सकिँदैन, चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिँदैन । सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यता छ । त्यो अनुसारको क्रियाकलाप भइरहेको छ । नेपालले सम्बन्ध राखेका देशसँग सम्बन्ध राख्दा अन्य कुनै पनि देशलाई समस्या पर्दैन भन्ने ग्यारेन्टी प्रदान गर्छौं भन्ने कुरा सरकारले अन्य देशलाई बुझाउन सक्नुपर्छ ।’