समाचार

आजको मौसम



काठमाडौँ, १८ असोज । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ ।

विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने बताए । 

“तर, पनि मंगलबार र बुधबारको जस्तो लगातार झरी हुन्न, केही समय पानी पर्ने र केही समय घाम पनि लाग्ने हुन्छ, पूर्वमा मात्रै अलिकति बाँकी छ, अब बिहीबारदेखि भारी वर्षा भने हुन्न,” उनले भने ।

विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ । रासस