Banner News

प्रधानमन्त्रीद्वारा बझाङ भूकम्प क्षतिको व्यवस्थापन गर्न निर्देशन,स्थलगत अवलोकन गर्ने



काठमाडौँ, १८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पका कारण बझाङ र आसपासमा भएको क्षतिको व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

तत्काल पुग्नुपर्ने स्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन उनले निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले सम्भावित विपद्जन्य घटनाका निम्ति पूर्वतयारीको आवश्यकता औँल्याए । नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्ने भन्दै उनले कुनै पनि बेला कहीँ विपद्जन्य घटना हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिए ।

“अहिले भर्खरै ठूलो क्षति नदेखिए पनि यसले गरेको संकेत गम्भीर छ । त्यसकारण अहिले भएको क्षतिको पनि हामीले गम्भीरतापूर्वक लिनुपर्ने र आउने दिनका लागि तयारी विषयलाई पनि त्यत्तिकै गम्भीरतापूर्वक लिनुपर्ने भएको हुनाले यो परिषद्को बैठकले पनि विषयलाई त्यसरी नै लिन म विशेष अनुरोध गर्दछु,” उनले भने, “अहिले बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न हामी निर्देशन गर्दछौँ । हालसम्म जे जति प्रयास भएको छ, उद्धार, राहतको लागि र व्यवस्थापनमा खटिएको सबैलाई धन्यवाद छ । थप राहत र पुनःस्थापना निर्माणका लागि समन्वयात्मक रूपले अझ जोड दिएर काम गर्न पनि निर्देशन गर्न चाहन्छु ।”