राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै



विराटनगर, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् ।

राजनीतिमा कुनै चमत्कार नभए अहिलेसम्म उनले विश्वासको मत पाउने स्पष्ट आधार छैन । त्यसपछि बन्ने संविधानको धारा १६८ को उपधारा (५) अनुसारको सरकार कस्तो हुने ? कसको नेतृत्वमा बन्ने भन्ने विषय चासोका साथ हेरिएको छ । मुख्यमन्त्री कार्कीले पटक पटक कांग्रेस–एमाले मिल्नुपर्ने भन्दै छलफल गरिरहेको छ । त्यसलाई काँग्रेस नेता डाक्टर शेखर कोइराला, महामन्त्री गगनकुमार थापालगायतले सार्वजनिक रूपमै समर्थन गरेका छन् । तर त्यसका लागि पार्टी सभापति शेरबहादुर देउवा सकारात्मक नरहेको चर्चा छ ।

उता, नेकपा एमालेले माओवादीसँगको छलफल पनि गरिरहेको छ । शुक्रबार माओवादी नेताहरूसँग एमालेका केही नेताले सत्ता सहकार्यको प्याकेज प्रस्ताव नै राखेको बताइएको छ । उक्त कुराको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि पुष्टि गरे । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने एमालेसँग त्यो कुरा माथिका नेताहरुबीच पनि नभएको र प्रदेशमा पनि नभएको बताए ।