Banner News

उपचार अभावमा नागरिकले मृत्यु वरण गर्नुपर्दैन: मन्त्री बस्नेत



मकवानपुर, २० असोज । नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले नागरिकहरू स्वास्थ्य उपचार नपाएर मर्नु पर्ने अवस्था नआउने दाबी गरेका छन् ।

शनिबार हेटौँडामा पत्रकारहरूसँगको भेटघाटमा मन्त्री बस्नेतले सरकारले नागरिकहरूमा सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउने काम गरिरहेकाले उपचार अभावमा नागरिकहरूले मृत्यु वरण गर्नु नपर्ने बताएका हुन् । नागरिकहरूको उपचारमा सरकार गम्भीर रहेको र सोही अनुसार स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको उनले बताए । सरकारी र निजी दुवै स्वास्थ्य संस्थाहरूलाई नागरिकको उपचारका लागि सहज र सुलभ सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिइएको उनको भनाइ छ ।

उनले भने, ‘कुनै पनि नागरिकले उपचार अभावमा मृत्यु वरण गर्नु पर्दैन । सरकारले नागरिकहरूको सहज सेवा प्रवाहका लागि निर्देशन दिइसकेको छ । सोही अनुसारको व्यवस्था मिलाउन सरकारी र निजी दुवै अस्पताललाई निर्देशन दिइएको छ । आर्थिक रूपमा विपन्न व्यक्तिहरूको उपचारका लागि सरकारले अस्पतालहरूमा १० प्रतिशत निःशुल्क उपचारको निर्णय कार्यान्वयन गरेको छ । सो निर्णय देशभरका अस्पतालमा लागु भएको छ । वडाको सिफारिसमा विपन्न नागरिकले सो सुविधा लिन सक्छन् । सो सुविधा लिन नसकेका विपन्न नागरिकको उपचार सरकारले गर्छ । सरकारले आफ्नै खर्चमा नागरिकको उपचार गर्छ त्यसको जिम्मा मैले लिएको छु ।’