Banner News

कोशी प्रदेश : आज हस्ताक्षर सनाखत हुने



विराटनगर, २७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्षले ४७ सांसदको हस्ताक्षर लिएर गएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखतका लागि सांसदहरुलाई शनिबारको समय दिएका छन् । 

प्रदेश प्रमुख खापुङले शनिबार बिहान ८  देखि दिउँसो २ बजेसम्मका लागि प्रदेशसभाका दुवैतिर हस्ताक्षर गर्ने सबै सांसदलाई सनाखतका लागि बोलाएका हुन् । कोशी प्रदेशमा शुक्रबार ५ बजेसम्मका लागि मुख्यमन्त्रीको दाबी पेस गर्न समय दिइएको थियो । उक्त समयमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र काँग्रेस सांसद केदार कार्कीले समान ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन् । उक्त दाबीमा कांग्रेसका ८ सांसदको हस्ताक्षर दुवैतिर उल्लेख छ । 

दुवैतिर हस्ताक्षर रहेको कारण सनाखतका लागि बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्कीले एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर समावेश गरेका छन् भने आङ्बोले कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाको १ सांसदको हस्ताक्षर समावेश गरेका छन् । प्रदेश प्रमुखले सांसदको हस्ताक्षर सनाखत पछि शनिबार नै मुख्यमन्त्री नियुक्त गर्ने बताइएको छ ।