Banner News

कोशीमा महागठबन्धनले सार्थकता पाएछ, आगामी निर्वाचनमा एउटै चुनाव चिन्हमा लड्नुस् : सभापति लामिछाने



काठमाडौँ, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी प्रदेशमा महागठबन्धनले सार्थकता पाएको टिप्पणी गरेका छन् । 

आज कोशी प्रदेशमा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि सभापति लामिछानेले उक्त टिप्पणी गरेका हुन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गत उप-निर्वाचनमा मलाई र डा. स्वर्णिमलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको ‘महागठबन्धन’ले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्,’ ‘र आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठबन्धन गरी, सकेसम्म चुनाव चिन्ह समेत एउटै हुने गरी ‘महासहमति’ पनि गर्नु होला। ढिला नगरी ‘महागठबन्धनवादी मोर्चा’को घोषणा सभा बारेपनि सुन्न पाइयोस्। उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि, सटर चाहिँ किन बेग्लाबेग्लै?’