राजनीति

उदयपुर सिमेन्टमा महाप्रबन्धक को ?



उदयपुर, २९ असोज । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको २०८० भदौ २३ को सूचना बमोजिम ८ जना उम्मेदवारले आवेदन गरेकोमा ७ जना आबेदकको मात्रै रितपूर्वक निवेदन प्राप्त भएको जनाइएको छ । महाप्रबन्धक छनौट समितिको संयोजक उद्योग सचिव हुने ब्यवस्था छ ।

अहिले महाप्रबन्धकको लागि निवेदन दिने उम्मेद्वारहरु मध्ये संजय कुमार लाल उदयपुर सिमेन्ट उद्योगकै पूर्व प्राविधिक कर्मचारी हुन् । यिनी उत्पादन महाशाखा र उत्पादन विभाग दुबैको प्रमुख समेत रहेका थिए । स्मरणीय छ, यिनकै पालामा उद्योगको ४७ करोडको सिमेन्ट हिनामिना भएको थियो, यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । यिनलाई महाप्रबन्धक बनाउन पूर्ब महाप्रबन्धकहरु, हाल उद्योगका पूर्वअध्यक्ष अक्रुर खड्का, उनका नातेदार पर्ने पूर्वमन्त्री बिमलेन्द्र निधिसमेत लागिपरेको बताइएको छ । तर मन्त्रालयमा उनको अर्को उजुरी पनि परेकोले यस्तो विवादास्पद व्यक्तिलाई नियुक्ति गर्नुहुन्न भन्ने मत पनि त्यतिकै भएकोले यस अघि पनि महाप्रबन्धक पदमा प्रतिष्पर्धा गरेका यिनलाई यसपटक पनि महाप्रबन्धक नबनाउने प्रवल संभावना देखिन्छ ।

डा. शेखर कोइराला, मिनेन्द्र रिजाल, हिमाल कार्कीहरु सुरेश कुमार कार्कीलाई महाप्रबन्धक बनाउनुपर्छ भनेर लागेकोले उनको संभावना बलियो भएर गएको छ । कांग्रेसकै रमेश रिजाल उद्योग मन्त्री भएकोले पनि यिनको संभावना बढेर गएको हो, ट्रेड युनियन कांग्रेसका एक कर्मचारीले बताए ।

त्यसैगरी अर्का बलिया दाबेदारको रुपमा दिल बहादुर भुजेल रहेका छन् । माओओदीका पूर्वसांसद सुरेश राई, उदयपुर जिल्ला पार्टी संगठन तथा पूर्वका माओवादी नेताहरु उनलाई महाप्रबन्धक बनाउनुपर्ने भनी प्रधानमन्त्री प्रचण्डकोमा दबाब दिइरहेका छन् । तर कांग्रेसको मन्त्रालय भएकोले उदयपुरकै भएपनि प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने बुझिएको छ ।

अन्य उम्मेदवारहरुमा कांग्रेसका युवा नेता सागर श्रेष्ठ पनि लागिपरेका छन् । त्यसैगरी नवीन राज दाहाल, बझाङ्का सिभिल इन्जिनियर गोरख राज जोशी पनि पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा मार्फत उद्योग मन्त्रीलाई दबाब दिइरहेको मन्त्रालय स्रोत बताउँछ । बिराटनगरका कबिन्द्र रेग्मी नेकपा समाजवादी समर्थक हुन र उनी पनि पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल मार्फत महाप्रबन्धक हुने दाउमा छन भन्ने सुनिएको छ । दशैं पछि मात्रै छनौट प्रक्रिया अघि बढाइने भएकोले महाप्रबन्धकमा कसले बाजि मार्ने हो, अहिले नै एकीन गरिहाल्ने अवस्था चै छैन ।

संचालक समितिका अध्यक्ष केशव कुमार बस्नेतले अनियमितता गरेको भनी उजुरी

यसै बिचमा अध्यक्ष केशव कुमार बस्नेतले महाप्रबन्धकको काममा अनावश्यक हस्तक्षेप गरेको, कमसल कोइला भित्र्याएर जाँच पास गर्न दबाब दिई चलखेल गरेको, गाडी तथा अन्य लाखौं खर्च लिई अनियमितता गरेको भनी उदयपुर सिमेन्ट उद्योगका सम्पूर्ण कर्मचारीहरुको हस्ताक्षर सहित निजलाई तत्काल पदबाट हटाउन उद्योग भित्रका चारैवटा क्रियाशिल ट्रेड युनियनको तर्फबाट उद्योग मन्त्रीलाई अनुरोध गरिएको छ । स्मरणीय के छ भने उद्योगको मिल मेसिनरी मर्मत गरेर ३ वर्षमै फिर्ता गर्नेगरी रु। १५ करोडको माग गर्दै यस अघिका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले सरकारलाई दिएको अल्टिमेटम पूरा गर्न संभव नभएको भनी उद्योग मन्त्री रमेश रिजालले बताएपछि बाध्य गराएर निजलाई राजिनामा गर्न लगाइएको थियो । रिक्त पदमा निमित्त भइ कार्य गर्न मेकानिकल इन्जिनियर उमाशंकर आनन्दलाई तोकियो । तर अहिलेका अध्यक्षको हस्तक्षेपकारी भूमिका देखेका उनले राजिनामा दिए । त्यसपछि इलेक्ट्रोनिक्स इन्जिनियर समेत रहेका महेश प्रसाद शाहलाई उनै अध्यक्ष बस्नेतको सिफारिसमा उद्योग मन्त्रीले निमित्त तोके ।

तर उनले पनि अध्यक्ष बस्नेतले आदेश दिएको मानेनन् । २०६९ चैतदेखीको अतिरिक्त सुबिधा र साउनदेखिको तलब भत्ता, दशै खर्च र फिल्ड ड्रेस भत्ता पहिला भुक्तानी गरेर मात्रै सप्लायर्सलाई भुक्तानी गर्ने अडान लिएपछि उनलाई पनि हटाएर अध्यक्षकै सिफारिसमा विदेश रहेकै बेला मन्त्रालयका डिभिजनल इन्जिनियर खगेन्द्र बस्नेतलाई महाप्रबन्धकको विज्ञापन खुलाएको दुई दिनमै निमित्त महाप्रबन्धक बनाएर पठाइयो । यसरी पछिल्लो तीन महिना भित्र तीनजना निमित्त महाप्रबन्धक बनाइयो । सरकारी संयन्त्रमा लामो समयसम्म काम गरेका खगेन्द्र बस्नेत आफूलाई किन पठाइयो भन्ने सम्बन्धमै मजदुरका माझमा अनबिज्ञता प्रकट गर्दै आफू एक महिनाको लागि मात्रै आएको भन्ने गरेकोले झनै अन्यौलता बढाएको छ । अहिले प्रायस् सबै कर्मचारीहरुले अध्यक्ष केशब कुमार बस्नेतको हर्कत बुझिसकेकोले यी र यिनका नजिकका मानिने संचालक लीलबहादुर बस्नेत लगायतको विरुद्धमा लाग्नुपरेको युनियनमा सक्रिय नभएका एकजना लोडर अपरेटरले जानकारी गराए ।

महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई काम गर्न अवरोध गरेकोमा कामदारहरुले गरे पछुतो

स्रोत र साधन उत्कृष्ट हुँदाहुँदै पनि जीर्ण मेसिनहरु कण्डिसनमा ल्याएर तपाईंहरुले पाउने सुबिधा दिलाउँछु भन्दै यस्तो कठीन परिस्थितिमा पनि अबकाश प्राप्त कर्मचारीलाई १५ करोड भुक्तानी गर्ने महाप्रबन्धकलाई हाम्रो बिरोधी देख्यौं, हामीलाई भ्रमित तुल्याइयो, अहिले पछुतो गर्ने बाहेक केही रहेन, एक कर्मचारीले भावुक हुँदै भने । एक पैसा पनि हिनामिना नगरी उनी आउँदा बन्द अवस्थाको उद्योग संचालन गरेका गोपी न्यौपाने जिएम साबलाई अहिले सबैले झलझल्ति सम्झेका छन तर के गर्ने ? अहिले करिव ८५ करोडको कर दायित्व, ५० करोडको विद्युत महसुल बक्यौता, अबको तीन वर्ष भित्र करिव एक अरबको कर्मचारी दायित्व, सप्लायर्सको बांकी झण्डै एक अरबको हाराहारीमा रहेको अबस्थामा यो उद्योगलाई संचालन गर्न एकपटकको लागि ५० करोड लगानी गर्न सके आफ्नै कमाइले अहिलेका दायित्व फरफारक गर्न सकिन्छ भनेर लागिपरेका न्यौपाने जिएम साबलाई उहाँको कार्यावधि पुस १९ सम्म पूरा गर्न दिएको भए सायद अहिले हामी तलब भत्ताका लागि समेत भीख मागे जस्तो गर्नुपर्ने थिएन, तीन चार महिनादेखि तलब नपाउँदा बालबच्चा विचल्ली भएको भन्दै अब नियुक्त हुने जिएम पनि उहाँ जस्तै व्यवसायीक, कमिशन नखाने, कर्मचारीको हितमा काम गर्ने, औद्योगिक वातावरण बुझेको व्यक्तिलाई छनोट गरिदिन मन्त्रालयलाई उनले आग्रह पनि गरेका छन् ।