राजनीति

यमप्रसाद अधिकारी प्रधान सेनापति बन्ने सम्भावना छैन: मन्त्री खड्का



काठमाडौँ, २९ असोज । उपप्रधान मन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने भन्दै गलत प्रचार भइरहेको बताएका छन् । सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने उनले बताए ।

काठमाडौंमा सोमबार भएको पत्रकार महासंघको कार्यक्रममा बोल्दै उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको प्रष्टाएका हुन् । नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधान सेनापति बनाउने कुरा झुटो रहेको उनले बताए । नेपाली सेनाको प्रधान सेनापति हुनका लागि निश्चित मापदण्ड रहेको उनको भनाइ छ ।

‘अहिले सेनाको नियमावली चलाएर, के-के गरेर यमप्रसाद अधिकारीलाई प्रधान सेनापति बनाउने प्रपञ्च हुँदैछ भन्ने केही सञ्चारमाध्यमले समाचार बनाए। आज पनि एउटा लेख देखेँ, नियमावलीमा यताउति गरेर केही गर्न खोजिँदैछ भन्ने । यी सबैकुरा मिथ्या हुन्, झुटो हो,’ उनले भने, ‘प्रधान सेनापति हुनका लागि निश्चित मापदण्ड छ । सैनिक नियमका आधारभन्दा दायाँबायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने, म जाने कल्पना पनि गर्न सक्दिनँ ।’