समाचार

पाँचथरमा ढुंगाले लागेर कामदारको मृत्यु



पाँचथर, २९ असोज । पाँचथरमा ढुंगाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ ।    

जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुंगाले लागेर ज्यान गएको हो । आइतबार दिउँसो ड्रिल मेसिनले ढुंगा निकाल्ने क्रममा आयोजनाको सुरुङ मार्गको स्प्रिङलाइनबाट खसेको ढुंगाले मगरलाई लागेको थियो । 

उक्त आयोजनाको सुरुङ निर्माण कार्यमा खटिएका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए। शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । प्याराम्याक्स कन्स्ट्रक्सन प्रालिले आयोजनाको सुरुङ मार्ग निर्माण गरिरहेको छ । मगर सोही कम्पनीमा आबद्ध भइ काम गरिरहेका थिए । रासस