विश्व

गाजापट्टीको अस्पतालमा हवाई हमला



एजेन्सी, १ कार्तिक । गाजापट्टीको एक अस्पतालमा भएको हवाई हमलामा पाँच सय बढीको मृत्यु भएको आशंका गरिएको छ । गाजापट्टीको अल अहली अरब अस्पतालमा गरिएको हवाई हमलापछी अस्पताल भवन भग्नावशेषमा परिणत भएको छ । भग्नावशेषमा सयौं च्यापिएको अनुमान गरिएको छ ।

हमासको स्वास्थ्य मन्त्रालयले इजरायली डिफेन्स फोर्सले आक्रमण गरेको जनाएको छ । इजरायलले भने आफुहरुले अस्पतालमा आक्रमण नगरेको दावी गर्दै प्यालेस्टाइनके अर्को कट्टरपन्थी समुह प्यालेस्टाइनी इस्लामिक जिहादले रकेट प्रहार गरेर अस्पताल ध्वस्त पारेको दावी गरिरहेको छ । तर इजरायली दावीलाई प्यालेस्टाईन र अरब देशहरले झुटको संज्ञा दिएका छन् ।इजरायलले गाजापट्टीको उत्तरी भेग खाली गर्न आदेश दिएको केही दिनमै अस्पतालमा भिषण हमला भएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो घटनालाई आतंकबादी हमलाको संज्ञा दिंदै इजरायली बालबालिकाको हत्या गरेको हमासले आफना बालबालिकाको पनि अनाहकमा ज्यान लिएको प्रतिक्रिया दिनुभएको छ ।

प्यालेस्टाइनमा नेता महमुद अब्बासले भने इजरायली बर्बरताको सिमा नाघेको प्रतिक्रिया दिनुभएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेसियसले अस्पतालमा भएको रकेट हमलाको भत्सर्ना गर्दै नागरिकको स्वास्थ्य सुरक्षाको रक्षा गर्न माग गर्नुभएको छ ।

यसैबीच जोर्डनले अमेरिकी राष्ट्रपतिसहितको शिखर सम्मेलन रद्द गरेको छ । जोर्डनको अम्मानमा भोलि अमेरिकी राष्ट्रपति बाइडेनसहित जोर्डन, प्यालेस्टाइन र इजिप्टका अधिकारी सम्मीलित शिखर सम्मेलन तय भएको थियो ।

तर जोर्डनले वर्तमान समयमा इजरायलले गाजापट्टीमा जारी राखेको आक्रमण रोक्नेबाहेक अन्य कुनै विषयमा वार्ता गर्नुको औचित्य नरहेको भन्दै सम्मेलन स्थगित गरेको हो । अमेरिकी राष्ट्रपति बाइडेन भने इजरायल भ्रमणमा निस्किसक्नुभएको छ ।