विश्व

गाजामा आक्रमण रोक्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब



एजेन्सी, ९ कार्तिक । गाजामा आक्रमण रोक्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । त्यहाँ फसेका र समस्यामा परेका मानिसलाई राहत सामग्री पुर्याउन इजरायल र हमासबीचको लडाइँ रोक्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको हो । गएको अक्टोबर ७ तारिखमा इजरायलमा हमास लडाकु समूहले गरेको आक्रमणपछि इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ ।

गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति बन्द गरिएको छ । मानिसहरु निकै कठिन अवस्थामा बाँच्न बाध्य छन् । अमेरिका, अस्ट्रेलिया र क्यानडा जस्ता देशले मानवीय आधारमा युद्ध रोक्न अपिल गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अस्थायी युद्धविरामको प्रस्ताव गर्नुभएको छ ।

अस्ट्रेलियाका विदेश मन्त्री पेनी वाङले इजरायलले आफ्नो सुरक्षाको अधिकारको प्रयोग कसरी गर्छ भन्ने कुरा नै महत्त्वपूर्ण रहेको बताउनुभएको छ । इजरायलका सहयोगी तथा साझेदार संघसंस्थाहरू पनि गाजाको अवस्थालाई लिएर गम्भीर बनेका छन् ।