राजनीति

२०८४ को चुनावमा एमालेले एकलौटी जित्ने अध्यक्ष ओलीको दाबी



पोखरा, १३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावमा एकलौटी जित्ने दाबी गरेका छन् ।

आज एमाले गण्डकीको नवनिर्वाचित कार्यसमितिलाई शपथ गराउँदै उनले पार्टीले तोकेको मिसन २०८४ पुरा गर्न जोड दिएर लाग्न आग्रह गरे । 

उनले भने, ‘८४ मा एमालेले एकलौटी गर्छ । जनताको मन जितेर एमालेका प्रतिनिधिलाई अत्यधिक मतले जिताउँछन्,’ ‘बुथ कब्जा गरेर होइन, अनुशासित भएर जित्छौँ, जिताउँछौँ ।’ 

उनले एमाले गण्डकीको अधिवेशनमा प्यानल बनाएर चुनाव लड्दा पार्टी कमजोर हुनसक्ने बताए । ‘तपाईंहरु प्यानल बनाएर चुनाव लड्नुभयो । केही प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भो, त्यहाँ डेमोक्रेसी नभएको होइन । यो बिचारहरू बीचको प्रतिस्पर्धा होइन,’ उनले भने,‘तपाईंहरुको प्रतिशपर्धामा जुन स्वच्छता चाहिएको थियो, त्यो पूरा भएन ।’