Banner News

संसद्को संयुक्त बैठक आज बस्दै, महासचिव गुटरेसले सम्बोधन गर्ने



काठमाडौँ, १४ कार्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय आज अपराह्न ४ बजेलाई तोकिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा आज ४ बजेका लागि बैठकको समय निर्धारण गरेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जनाएका छन् । 

गौतमले सोमबार जारी गरेको सूचनामा कार्तिक १४ गते चार बजे बैठक बस्ने उल्लेख छ । उनका अनुसार संयुक्त बैठक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधि सभा बैठक कक्षमा बस्नेछ । महासचिव गुटरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । उनी बुधबार फर्कदैछन् ।