Banner News

रिगलको कैद मिनाहा बदर गर्ने आदेश स्वागतयोग्य छ : महामन्त्री थापा



काठमाडौँ, १७ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत थापाले योगराज ढकाल भनिने रिगललाई आममाफी दिने सरकारको निर्णय अदालतले बदर गर्नु स्वागतयोग्य भएको बताएका हुन् । मुद्दाको अन्तिम किनारा र पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको उनले बताए । साथै महामन्त्री थापाले आममाफीसँग सम्बन्धित कानुनलाई एकीकृत गर्न र कानुनी छिद्रहरू टाल्न आग्रह गरे । 

उनले भनेका छन्, ‘आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य छ। मुद्दाको अन्तिम किनारा, पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको छ । यस्तो अवस्था आएको पहिलो पटक होइन। कानुनको छिद्र प्रयोग गरेर पटक पटक यस खालका घटनाहरू दोहोरिने गरेका छन् । आम माफीका घटना आउँदा त्यसको विरोध गर्ने, घटना सेलाउँदै गए पछि बिर्सिने प्रवृत्तिलाई अब फेरि दोहोरिन दिनु हुँदैन । यस सम्बन्धमा जे-जसरी आम माफी दिने गरिएको छ त्यसले यो प्रणालीमै प्रश्न उठ्ने गरेको छ। यसमा मुद्दाको अन्तिम किनारा गर्नुमा न्यायपालिकाको भूमिका र पीडितको न्यायको विषयको आधारमा यो प्रणालीमै पुनर्विचार गर्नुपर्नेछ । अब हामी अलमलिने वा यो विषयलाई नजरअन्दाज गर्ने भन्ने नै हुँदैन, आम माफीसँग सम्बन्धित सम्पूर्ण कानुनलाई एकीकृत गरेर व्याख्या गरौँ र कानुनी छिद्रहरू टालौँ ।’