समाचार

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ



चितवन, २३ कार्तिक । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकारी हुनसक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । निकुञ्जले चाडपर्वमा विशेष सुरक्षा व्यवस्था मिलाएको हो । 

दशैँअघिदेखि नै निकुञ्जले सुरक्षामा कडाइ गरेको हो । तिहार, छठजस्ता पर्वको समयमा समेत सुरक्षामा कडाइ गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताउनुभयो । निकुञ्जमा डुङ्गा गस्तीको सङ्ख्या थप गरिएको छ । तत्काल परिचालन हुनका लागि विशेष टोली तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । 

निकुञ्जको ६७ वटा सुरक्षा पोष्टमा नेपाली सेना, निकुञ्ज कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । ‘त्यसैगरी हात्तीमा गस्ती, घुमुवा गस्तीसहितको व्यवस्था मिलाएका छौँ’ उहाँले भन्नुभयो, ‘कार्यालयमा अन्य कर्मचारी पनि आलोपालो गरी बिदामा जाने गरी व्यवस्था मिलाइएको छ ।’

निकुञ्जमा पैदल, साइकल, जीप, हात्ती, डुङ्गालगायत नियमित गस्ती गर्ने गरिन्छ । यसका अतिरिक्त रात बिताउने गरी संवेदनशील ठाउँमा गस्ती गर्ने गरिएको छ । यसलाई ‘एम्बुस’ नाम दिएर परिचालन गरिएको छ। 

निकुञ्जभित्र मानिसको चहलपहल धेरै हुने ठाउँमा लुकाएर क्यामरा राख्ने गरिएको छ । यो स्पाइ क्यामरा हो । यसले खिचेको दृश्यको अनुगमन गरेर आवश्यकताअनुसार थप सुरक्षाकर्मी परिचालन गर्ने गरिएको छ । निकुञ्जका ठाउँठाउँमा सीसी क्यामरा राखिएको छ । 

निकुञ्जमा विश्वमा नै दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, नीलगाई, घडियाल गोही, हात्तीलगायतका जनावर रहेका छन् । पछिल्ला दिनमा जङ्गली ध्रुवे हात्तीले माडी र भरतपुरका राप्ती नदी किनारका बस्तीमा दुःख दिन थालेपछि दुर्घटना नहोस् भन्नका लागि सजगता अपनाइको उहाँले जानकारी दिनुभयो । 

निकुञ्ज र नेपाली सेनाका गाडीले हात्तीलाई निगरानी राखिएको छ भने उपभोक्ताले मध्यवर्ती क्षेत्रमा ट्र्याक्टरमार्फत निगरानी गरिरहेका छन् । जसका कारण निकुञ्ज सुरक्षामा समेत सहयोग पुगेको छ । वर्षात र चाडपर्वको समयमा तस्कर सक्रिय हुनसक्ने भएकाले विशेष निगरानी गरिएको हो । रासस