राजनीति

सीमा स्तम्भसम्मै भारतले बनायो सडक: सरकार मौन



कञ्चनपुर, २३ कार्तिक । सामान्यतयाः सीमा क्षेत्रमा भौतिक संरचना निर्माण गर्दा दशगजालाई यथावत अवस्थामा राखेर गरिन्छ । कुनै संरचना निर्माण गर्नैपर्ने भए पनि दुवै देशका तर्फबाट सहमति र समन्वयमा मात्रै गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकीनजिकै भारतीय पक्षले भने दशगजा मात्रै होइन, सीमा स्तम्भको पनि आधार भागसम्म यसैसाता सडक कालोपत्र  गरेको छ । 

भरतीय पक्षले महेन्द्रनगरबाट ६ किलोमिटर दूरीमा रहेको गड्डाचौकीस्थित ८०५ नं. सीमास्तम्भसम्मै सडक कालोपत्र गरेको हो । गड्डाचौकीदेखि सीमावर्ती भारतको बनबासासम्म जाने उक्त सडक भारतको सडक विभागले यसैसातादेखि कालोपत्र गर्न थालेको हो । उक्तक्षेत्रमा यसअघि पनि कालोपत्र सडक नै थियो । विगतमा सीमा स्तम्भभन्दा एक/डेढ मिटर टाढा भए पनि यस पटक भने स्तरोन्नतिको नाममा सीमा स्तम्भको आधाभागसम्मै कालोपत्र गरिएको हो ।

भारतीय पक्षले नेपालतर्फ सडक निर्माणदेखि विभिन्न किसिमका भौतिक संरचना निर्माणमा पटक–पटक अवरोध गर्दै आएको छ । हुलाकी सडकअन्तर्गत कञ्चनपुरकै बेलौरी नगरपालिका–८ को पचुईमा एसएसबीको अवरोधकै कारण झन्डै एक किलोमिटर सडक निर्माणको काम रोकिएको छ । तीन वर्षअघि भीमदत्त नगरपालिका–९ ब्र्रम्ह्देवमा नगरपालिकाले सडक कालोपत्रे गर्न खोज्दा एसएसबीले नै रोकेको थियो ।

भारतीय पक्षले ठाउँ–ठाउँमा विवाद झिकेर निर्माणमा अवरोध गरे पनि आफूले भने सीमास्तम्भको समेत आधा भागसम्म सडक कालोपत्र गरेपछि स्थानीयले विरोध जनाएका छन् ।

‘हामीले फोनमार्फत र भेटेर पनि प्रमुख जिल्ला अधिकारीज्यूलाई जानकारी गराएका छौं, तर यस विषयमा खासै पहल भएन,’भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले भने, ‘कम्तीमा दशगजा छाडेर काम गरे हुन्थ्यो, हामीले काम गर्दा ठाउँ–ठाउँमा अवरोध गर्ने, भारतले सीमा स्तम्भसम्मै निर्माण गर्नु उचित होइन ।’

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार अन्तर्राष्ट्रिय नाकामा विवाद नभएको क्षेत्रमा दुवै देशले आपसी समन्वयका आधारमा सडक निर्माणको काम गर्न सकिन्छ । नेपाल र भारतबीच यस्ता ४२ नाका छन् । तर भारतीय पक्षले सडक बनाउँदा नेपाली सुरक्षा निकायसँग कुनै पनि समन्वय गरेको देखिँदैन ।

‘हामीकहाँ आधिकारिक रूपमा कहीँ कतैबाट पनि जानकारी आएन, पुरानै ठाउँमा सडक निर्माण भएको भन्ने हामीले बुझेका छौं, हामी यसको अध्ययन गरिरहेका छौं,’ प्रजिअ अधिकारीले भने, ‘विवाद नभएको ठाउँमा सडक निर्माण गर्न पाइन्छ, ब्रह्मदेव र हुलाकी सडकमा केही सीमासम्बन्धी विवाद देखिएकाले काम रोकिएको हो ।’

सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी प्रेमसिंह ऐरले पनि सडक निर्माणका विषयमा कुनै किसिमका समन्वय नभएको बताए । उनले बुधबार जिल्ला सुरक्षा समितिको वैठकमा पनि यस विषयमा गम्भीर ढंगले छलफल भएको बताए । ‘अन्तर्राष्ट्रिय नाका जोडने ठाउँमा सडक निर्माण गर्न पाइन्छ, यस विषयमा समन्वय गर्नुपर्ने थियो, तर त्यो भएन,’एसपी ऐरले भने, ‘नेपालतर्फबाट पनि सडक निर्माण काम गर्न सकिन्छ ।’ कान्तिपुरबाट