राजनीति

सुदूरपश्चिम पुगेर आयोगले लियो सुझाव



काठमाडौँ, २६ कार्तिक । राष्ट्रिय योजना आयोगले सुदूरपश्चिम प्रदेश पुगेर १६ औँ आवधिक योजनाका लागि सुझाव लिएको छ ।

१६ योजनाको तयारीमा जुटेको आयोगले पहिलोपटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिएको हो ।  आयोगकी सदस्य डा.अनिता शाह ढुंगाना आयोगको नेतृत्व गर्दै सुदूरपश्चिम प्रदेश पुगेकी थिइन् । आयोग सदस्य डा.शाहको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री तथा सबै मन्त्री सहभागी भए । 

कात्तिक २१ गतेदेखि २ दिनसम्म चलेको छलफल कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले १६ औँ पञ्चवर्षीय योजना कस्तो बनाउने भन्ने सुझाव दिएका छन् । सुझाव दिने धेरैले सङ्घीयताको मर्मअनुसार १६ औँ आवधिक योजना बनाउनुपर्नेमा जोड दिएका छन् । 

आयोग सदस्य डा.शाहले कार्यक्रम एकदमै सभ्य र भव्य रूपमा सम्पन्न भएको बताइन् । आयोगले अहिले केवल दस्ताबेजका लागि मात्रै नभएर साँच्चिकै यथार्थपरक योजना बनाउने उनले बताइन् । तलबाट वस्तुपरक अवस्था बुझेर योजना बनाउन लागिएकाले तलसम्म सुझाव लिन पुगेको उनले जानकारी दिइन् ।