राजनीति

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी मोडलमा चलाउँछौं : मन्त्री किराँती



चितवन, २७ कात्तिक, । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रकृया सरकारले सुरु गरेको बताएका छन् ।

चितवनको भरतपुरमा सोमबार बिहान पत्रकारसँग कुरा गर्दै मन्त्री किराँतीले विमानस्थलका बारेमा भएका अवरोध र समस्याहरु कम हुँदै गएपछि सरकारले निर्माणको प्रकृया अगाडि बढाएको बताए । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नै अलपत्र भैरहेको बेला बारामा थप अन्तर्राष्ट्रिय विमानस्थल किन चाहियो भन्ने पत्रकारको जिज्ञासामा मन्त्री किराँतीले काठमाडौंको एयर ट्राफिक जामलाई कम गर्नका लागि पनि बारामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताए । उनले बारामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएकै कारण फास्ट ट्र्याक निर्माण थालिएको बताए ।

उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा सञ्चालनको तयारी गरिएको जानकारी पनि दिए । उनले विमानस्थलहरु आवश्यकता भन्दा पनि राजनीतिक दबाबमा बन्दा व्यवसायिक उडाउन हुन नसकेको बताए । मन्त्री किराँतीले चितवनको भरतपुर विमानस्थलको रनवे विस्तारका लागि सरकारले ट्र्याक टु अन्तर्गत नेपाली सेनाले भोगचलन गर्दै आएको जग्गाको केही भाग लिने प्रकृया सुरु गरेको जानकारी गराए ।