Banner News

भूगोलमा सानो भएपनि सभ्यताका दृष्टिले नेपाल विशाल छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, ३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूगोल र क्षेत्रफलका हिसाबले नेपाल सानो भएपनि सभ्यताका दृष्टिले नेपालीहरू विश्वमै विशाल र वैभवशाली रहेको बताएका छन्।

छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले भाषा, कला, संस्कृति, चाडपर्व,भेषभुषा र सभ्यताका दृष्टिले नेपालीहरू विश्वमै विशाल र वैभवशाली रहेको बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

छठका अवसरमा तराईवासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै भूगोल र क्षेत्रफलको हिसाबले नेपाल सानो भए तापनि भाषा, कला, संस्कृति, चाडपर्व, वेशभूषा र सभ्यताका दृष्टिले विश्वमै विशाल र वैभवशाली भएको बताए । “यो यथार्थ हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरूले प्रमाणित गर्छन्, नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात् गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात गरेको छ”, सन्देशमा भनिएको छ ।

‘यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ,’ शुभकामना सन्देशमा भनिएको छ।