समाचार

रातोपुलमा स्पा सञ्चालक पक्राउ



काठमाडौँ, ११ मंसिर ।  रोजगारीको नाममा काठमाडौँमै बालिका तथा युवतीहरु बेचबिखन भएको घटना बाहिर आएको छ ।

काठमाडौँ महानगरपालिका–९ रातोपुलमा रहेको ‘नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाइ यौन शोषण गर्ने गरेको पाइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्युरोबाट खटिएको टोलीले बालिकासहित तीन जना युवतीलाई उद्धार गर्नुकासाथै स्पाका सञ्चालक दिनेश पौडेललाई पक्राउ गरी ब्युरोले सार्वजनिक गरेको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका युवतीलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारेर स्पा सेन्टरमा काम गर्न बोलाउने गरेको खुल्न आएको छ । पौडेलले रातो पुल र एअरपोर्ट नजिकै दुई वटा स्पा सेन्टर खोलेको पाइएको तथा त्यहाँ काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको पनि अनुसन्धानमा फेला परेको ब्युरोले जनाएको छ ।